कलाकारको गाई जात्रा जमलमा देखाइँदै

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं । विगतका वर्षहरुमा जस्तो गाइजात्राको रौनक बजारमा नभए पनि कलाकारहरुले औपचारिकता निभाउन भएपनि राष्ट्रिय नाचघर जमलमा गाईजात्रा मनाइरहेका छन् । विगतका वर्षहरुमा प्रज्ञा प्रतिष्ठान कमलादी र राष्ट्रिय सभा गृहमा देखाइने जाइजात्रा अहिले जमल सरेको हो । केही पुराना कलाकार केही नयाँ कलाकारले सामाजिक यथार्थतामाथि व्यंग्य प्रहार गरिरहेका छन् ।

त्यसो त यो वर्ष अन्य अघिल्ला वर्षको तुलनामा गाईजात्रे कार्यक्रम कम भए । व्यंग्य र घोचपेचको पर्वका रुपमा लिइने गाईजात्राको रौनक कम भए पनि नाँचघरमा भने दर्शकले गाईंजात्राको मज्जा लिन पाएका छन् । गत भदौ ११ गते देखि शुरु भएको कलाकारहरुको गाईजात्रा १८ गतेसम्म चल्नेछ ।

‘गाईजात्रा महोत्सव २०७५’ प्रत्येक दिनको साँझ ५ः३० बजे शुरु हुन्छ भन बिदाको दिन दिउँसो २ः३० बजे शुरु गरिन्छ । यो गाईजात्रामा ५ वटा प्यारोडी रहेको महोत्सवका संयोजक प्रभावकर शर्माले जनाएका छन् । राष्ट्रिय नाँच घरमा चलिरहेको गाईजात्रा महोत्सवमा युवा हास्यव्यंग्य कलाकार राजाराजेन्द्र पोखरेलको हास्यव्यंग्य प्रस्तुतिसँगै सञ्चालन भएको कार्यक्रममा प्रभावकरदेव शर्मा, राजन थापा, नवराज भण्डारी, शुशीला निरौला, पुष्प अवस्थी लगायतका कलाकारहरुले ‘जा जा आ वा’ नामक प्रहसन गरेका थिए ।

शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलाको साग’को सपेरा प्रहसनमार्फत राजनीतिज्ञमाथि व्यंग्य प्रहार गर्दा यता दमन रुपाखेती, निरज नेपाल लगायतका कलाकारको टोलीले ‘पानीजहाज’ नामक प्रहसनमार्फत सरकारले ल्याउने भनिएको पानीजहाज, रेल र ग्यासको पाइपमाथि कडा व्यंग्य प्रहार गरेका छन् । रवि डंगोल, पूर्ण थापा, पल्पसा डंगोल, सन्तोष खनाल लगायतका कलाकारको समूहको कर, मूल्य वृद्धि र राजनीतिक कुरीतिमाथि प्रहार गर्दै ‘क क थि’ प्रहसन राखिएको छ ।

विष्णु सापकोटा, शिवहरी बैरागी लगायतका कलाकारहरुको सार्वजनिक शौचालयसँग सम्बन्धित शौचालय प्रहसन समेत रहेको गाईजात्रामा सुमन कार्कीको स्डाण्डअप कमेडी र मेरी बास्सैकी भुनिया अर्थात हरिशा बानियाँको नृत्यले पनि कार्यक्रममा स्थान पाएको छ ।

सुन काण्डदेखि लिएर बलात्कार, हत्या, अपहरण र समसामयिक विषयमाथिको व्यंग्यमा केन्द्रित यसवर्षको गाईजात्रामा राजाराजेन्द्र पोखरेलले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य तुल्याउँदै कार्यक्रम सञ्चालन गरिरहेका छन् । कलाकारहरुले देखाउने गाईजात्रे प्रहसन पछिल्लो वर्षहरुमा दुई अर्थी र छाडा चुड्किलाहरु हुँदै गएको गुनासोलाई कम गर्न यसवर्ष कलाकारहरुले ध्यान दिएका छन् ।