कहाँ अलमलियो नेकपा ? केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने कसरत

title
शनिबार, मंसिर ८, २०७५

काठमाडौं- पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तयारीमा जुटेको छ।
पार्टीको जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो।

लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्य भूमिकाविहीन भएको भन्दै चौतर्फी रूपमा नेतृत्वको आलोचना शुरू भएपछि सचिवालयको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागेको छ। पार्टीको सांंगठनिक एकता प्रक्रियामा विवाद भएपछि सचिवालयको बैठकले पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर कार्यक्षेत्रमा खटाउने भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावबारे छलफल भएको छ।
बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा कार्यदलले बिहीबार पेस गरेको सांगठनिक एकीकरणसम्बन्धी प्रस्तावमाथि छलफल गरेको हो।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको बताए। बैठकले काठमाडौंमा छुट्टै पार्टीको विशेष जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।