काँग्रेसको विधान मस्यौदामा शुक्रबारसम्म छलफल हुने

title
बुधबार, मंसिर १९, २०७५

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामाथिको छलफल शुक्रवारसम्म जारी रहने भएको छ । विधान मस्यौदा माथिको छलफलमा भाग लिन केन्द्रिय समिति बैठकमा अधिकांश सदस्यले नाम टिपाएका कारण छलफल शुक्रबारसम्म लम्विने काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मङ्सिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको थियो । बुधबारको बैठकमा महेन्द्र यादव , ज्ञानेन्द्र बहादुर कार्की , गुरु घिमिरे लगाएतले धारणा राख्नुभएको थियो ।

मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिएका छन् । केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने छ । यस्तै बैठकमा आर्थिक मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेस गरिएको काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै महासमिति बैठकको तयारी सम्बन्धमा काग्रेस काठमाडौं भक्तपुर र ललितपुरका सभापति लगाएत केहि पदाधिकारीले महासमितिको बैठक तयारीका बारेमा छलफल गरेको प्रवक्ता शर्माले बताउनुभयो । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ । बैठक योगम्वर पार्टी प्यालेशमा हुने र उक्त स्थानको बुधबार नै निरिक्षण गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।