काँग्रेसलाई आफैंभित्र जुध्दैमा ठिक्क

title
शनिबार, अशोज २७, २०७५

काठमाडाैं- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिपक्षसँग यतिबेला अनगिन्ती राष्ट्रिय मुद्दा छन् तर कांग्रेस त्यस्ता मुद्दातिर होइन, आफ्नै पार्टीभित्र जुधिरहेको छ ।
दसंैको मुखमा महँगीले जनता आक्रान्त छन् । हत्या–हिंसाका घटना कम भएका छैनन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अझै कानुनी दायरामा ल्याइएको छैन । शान्ति–सुरक्षाको स्थिति कमजोर बन्दै गएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना राजनीतिक दाउपेचले अनिश्चित बनेको छ । वाइडबडी जहाज खरिद अनियमितता प्रकरण छताछुल्ल छ ।

राजधानीकै सडक बन्न सकेका छैनन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुदूरपश्चिमको राजधानी मुद्दा पेचिलो बन्दै गएका छन् । सरकारको काम प्रभावकारी छैन । तर, यी सबै मुद्दामा प्रतिपक्षको भूमिका कहाँनेर छ ? केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले औपचारिक रूपमा निर्णय गरेर यी विषयमाथि धारणा राखे पनि संसदीय अभ्यासमा कांग्रेस अहिले जति कमजोर कहिल्यै नभएको स्वयं पार्टी नेताहरू स्वीकार्छन् ।