काँग्रेस पार्टी कार्यालयमा नेविसंघको विरोध प्रदर्शन

title
शनिबार, मंसिर १, २०७५

काठमाडौँ । नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

भातृ संस्था नेपाल विद्यार्थी संघबारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्नुभन्दा अघि विद्यार्थीहरुले प्रदर्शन र नाराबाजी गर्दे नेताहरुलाई महाधिवेशन बारे ध्यानाकर्षण गराएका थिए ।

नेविसंघकै एउटा पक्षले शनिबार कार्यकाल सकिने कार्यसमितिलाई अवैधानिक भएको हुने दावी गर्दै नयाँ समिति बनाएर महाधिवेशनमा जानु पर्ने बताउँदै आएको छ भने अर्को पक्षले यही केन्द्रीय समितिलाई आयोजक समिति बनाएर जानु पर्ने माग गरिरहेको छ ।

नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको दुई वर्षे कार्यकाल शनिबार सकिने भएपनि उमेर हद विवादका कारण महाधिवेशन हुन सकेको छैन । जसका कारण नेवि संघको वर्तमान कार्यसमिति विघटनको संघारमा पुगेको संगठनलाई कसरी जोगाउने भन्ने निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।

यसअघि कात्तिक १६ गतेदेखि काठमाडौँमा १२औँ महाधिवेशन गर्ने भनिएपनि ३२ वर्षे उमेर हद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन सकेको थिएन । केन्द्रीय समितिबाट संस्थापन पक्षले बहुमतका आधारमा उमेर हद ३२ वर्ष हुने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।