काँग्रेस महासमिति बैठक मंसीर ५ गते काठमाडौँमा

title
शनिबार, भदौ ९, २०७५

काठमाडौँ । गत चैतमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।

तर शनिबार बसेको केन्द्रीय समिति बैठकले यसअघि आफैले तोकेको मितिभन्दा २ महिना पछि अर्थात् मंसीर ५ देखि ९ गतेसम्म काठमाडौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको हो । महासमिति बैठकले महामन्त्री पुर्णबहादुर खड्काको नेतृत्वमा ११ सदस्यीय विधान संसोधन मस्यौदा समिति बनाउने निर्णय समेत गरेको छ ।

तत्कालै महासमिति बैठक बोलाएर महाधिवेशनको मिति समेत तोक्न माग गर्दै आएका केही केन्द्रीय सदस्यहरुले भदौमै महासमिति बैठक बोलाउन माग गरेका थिए ।

महासमिति बैठकको मिति तय गर्न भन्दै शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत मिति तोक्ने विषयमा विवाद बढेपछि बस्दै नबसी स्थगित भएको थियो । पार्टीभित्र बढ्दै गएको गुटका कारण महासमिति बैठकको विषय चोटिलो बनेको काँग्रेसकै नेताहरुले बताएका छन् ।

आन्तरिक विवादकै कारण केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति भने अर्कोपटक बस्ने केन्द्रीय समिति बैठकबाट टुङ्गो लगाउने बताएको छ ।