कांग्रेसको अवरोधपछि संसद् बैठक एक साताका लागि स्थगित

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्ने निर्णय जारी राखेपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टांसेर साउन ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

डा.गोविन्द केसी र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा असहमति जनाउँदै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको हो ।

सभामुख कृष्णबहादुर महाराले सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच सहमति गराउने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

आजको बैठकको कार्यसूचीबाट चिकित्सा शिक्षा विधेयक हटाएपनि कांग्रेसले बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

कांग्रेसको चेतावनी पछि साउन ११ गते शुक्रबार १ बजेका लागि बैठक स्थगित गरिएको हो ।