कांग्रेसको छाँया सरकार दुई तीन दिनभित्रै

title
आइतवार, माघ ६, २०७५

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुई तीन दिनमा छाँया सरकार गठनले पूर्णता पाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले अबको तीन दिनभित्र छाँया सरकार गठनले पूर्णता पाउनेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । नेताहरुको व्यस्तताका कारण तोकिएको समयभन्दा ढिलाइ भएको बताउँदै उहाँले आज–भोलिसम्म इच्छुक नेताको निवेदन आइसक्ने बताए ।

सरकारका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गर्न छायाँ सरकार गठनको आवश्यक परेको नेता विश्वकर्माले बताए । उनले सरकारका पछिल्ला गतिविधिले आक्रान्त जनतालाई न्यायको अनुभुति गराउन छायाँ सरकार आवश्यक परेको उल्लेख गरे ।
सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको उहाँको भनाइ छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाउनु र वाइडबडी खरिद प्रकरणमा मुछिएकालाई संरक्षण गरिनु सरकारको बदनियतपन भएको नेता विश्वकर्माले बताए ।