कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया सुरु

title
आइतवार, फाल्गुन ५, २०७५

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ ।

सिंहदरबारमा आईतवार बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको बहिष्कारका बावजुद सुनवाई प्रक्रिया अगाडि बढाएको हो । माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषद्को उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहन्थ्यो । देउवाको अनुपस्थितिमै सिफारिस गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

सिफारिस भएका अध्यक्षहरुको सुनवाईलाई कांग्रेस सांसदहरुले बहिष्कार गर्दै आएका छन् । उनीहरुले आजको बैठक पनि बहिष्कार गरेका थिए । आजको बैठकमा प्रस्तावित अध्यक्षहरु विरुद्धका उजुरी खोलिएको छ । सात गते उजुरी कर्तासँग छलफल गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

त्यस्तै सात गते नै राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा सिफारिस भएका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा सिफारिस भएका शान्तराज सुवेदीको सुनवाई हुनेछ । मुस्लिम आयोगका अध्यक्षमा सिफारिस भएका समिम मिया अन्सारीविरुद्ध मात्र उजुरी परेको छ । उक्त उजुरीमाथि पनि सोहि दिन छलफल हुनेछ । अन्सारीविरुद्ध शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै दुईवटा उजुरी परेको समितिले जनाएको छ ।