कांग्रेसले नै बिर्सियो गिरिजालाई

title
बिहिबार, चैत्र ७, २०७५

अमृतराज काफ्ले । आज पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस । नेपाली काँग्रेस केन्द्रले औपचारिक रुपमा कुनै कार्यक्रम नगरेपनि जिल्ला जिल्लामा भने स्मृति दिवस मनाइएको छ । कोइरालाले शसस्त्र संघर्षमा रहेको तत्कालिन नेकपा माओवादीलाई विस्तृत शान्ती सम्झौता मार्फत शान्तीपुर्ण राजनीतिमा ल्याउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

त्यसोत, २०६२–६३ को दोस्रो जनआन्दोलनको नेतृत्वकर्ता समेत रहेका गिरिजाप्रसाद कोइराला २०४८ सालपछि चार पटक नेपालको प्रधानमन्त्री पनि भएका थिए । विपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित् भएको बेला गिरिजाबाबुको जन्म भएको हो । सन् १९२९ मा परिवारसँगै भारतबाट नेपाल फर्केका कोइरालाको एक मात्र सन्तानका रुपमा काँग्रेस नेतृ सुजाता कोइराला छन् ।

२००४ सालमा कोइरालाकै नेतृत्वमा नेपाल मजदुर कांग्रेसको स्थापना गरी विराटनगर जुट मिलमा मजदुर आन्दोलन शुरु गरेका कोइराला २००८ देखि २०१७ सालसम्म कांग्रेस मोरङ सभापति बनेका थिए । करिब ६ वर्ष जेल जीवन विताएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भएका कोइराला २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भइरहे । जसलाई काँग्रेसका नेताहरुले नेपाली राजनीतिक इतिहासकै कुशल नेतृत्वकर्ताका रुपमा संझन्छन् ।

शान्ति सम्झौता गरी द्वन्द्वको सफल अवतरण गराएका कोइरालालाई नेपाली काँग्रेस केन्द्रीय कार्यालयले भने चैत ७ गते कुनै औपचारिक कार्यक्रम गरेन र सम्झिएन । तर विस्तृत शान्तिसम्झौताका अगुवा तथा प्रमुखा हस्ताक्षरकर्ता भएका हिसाबले कोइरालालाई कांग्रेस इत्तरका नेताहरुले समेत महत्वपुर्ण व्यक्तित्वका रुपमा स्मरण गर्दै आएका छन् ।