कांग्रेस नेता बास्तोलाको आज अन्त्यष्टि गरिने

title
आइतवार, अशोज २८, २०७५

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता चक्रप्रसाद बास्तोलाको आइतबार अन्तिम संस्कार गरिने भएको छ । विगत केही वर्षदेखि उपचाररत बाँस्तोलको शनिबार राति ९ बजेर २० मिनेटमा निधन भएको हो ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे एकबजेदेखि चार बसेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने नेपाली कांग्रेसले जनाएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेसले जनाएको छ ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा सहभागी हुने क्रममा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्कघात भएको थियो। बिपी कोइरालाको प्रेरणाले २०१७ सालबाट राजनीतिमा होमिएका बाँस्तोला २०३० सालको चर्चित विमान अपहरण प्रकरणका सदस्य थिए ।

बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रका पोस्ट ग्य्राजुएट बाँस्तोला भारतका लागि पूर्व राजदूत हुन् । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने बाँस्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेतामा पर्छन् ।