काङ्ग्रेस महासमितिको बैठक सुरु,मस्यौदा सहितका पाँच वटा दस्तावेज पेश हुने

title
शनिबार, मंसिर २९, २०७५

काठमाडौ । नेपाली काङ्ग्रेसको बहुप्रतिक्षीत् महासमितिको बैठक शनिवारदेखि काठमाडौमा सुरु भएको छ ।

पार्टीको बिधान र संगठनात्मक संरचनालाई सङ्घीयताअनुसार रुपान्तरण गर्नुपर्ने दवाबका बीच महासमिति बैठकमा झण्डै दुई हजार महासमिति सदश्य तथा पर्यवेक्षक सहभागी छन् । पुतलीसडकस्थित् एक पार्टी प्यालेसमा चलिरहेको महासमितिको कार्यसुची अनुसार, शनिवार उद्घाटन लगत्तै बन्द सत्र सुरु हुनेछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पुस ३ गतेसम्म चल्ने बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित् महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् ।

बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल कै क्रममा रहेको बिबादीत् विधान मस्यौदा सहितका अलग अलग पाँच वटा दस्तावेज पेश हुनेछन् । बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विधान मस्यौदाबाहेक सबै प्रतिवेदन परिमार्जनसहित पारित गरिसकेको छ । पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे विधान मस्यौदामा तिब्र बिबाद छ । जारी महासमिति बैठकमा विवादीत् प्रतिवेदन माथि प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरि छलफल गरिने छ । नेपाली कांग्रेसको अहिलेको विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो ।

काङ्ग्रेसकै नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि भईरहेको नेतृत्वको आलोचना व्यवस्थापनका लागि यो महासमिति बैठक निकै महत्वपूर्ण ठानीएको छ ।