काठमाडौँ उपत्यकाका शिक्षकलाई चिनिया भाषा सिकाउन शुरु

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई मंगलबारदेखि काठमाडौंमा चिनियाँ भाषा तथा संस्कृति सिकाउन थालिएको छ ।

चीन सरकारको सहयोगमा काठमाडौंमा विभिन्न ६० विद्यालयका करीब १ सय ५० शिक्षकलाई भाषा सिकाउन शुरु गरिएको हो । आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भाषा प्रशिक्षणमा चिनियाँ संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषा सिकाइनेछ ।

भाषा प्रशिक्षणको आज शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भाषा तथा संस्कृतिले दुवै मुलुकको शिक्षा, सभ्यता, प्रविधिको विकास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भानु लगायत हिमाली भेगका विद्यालयको पुनःनिर्माणका साथै मर्मत तथा जीर्णोद्धारमा चिनियाँ स्वयंंसेवकले गरिरहेको सहयोगको सराहना गर्नुभयो ।

त्यस्तै नेपालस्थीत चिनियाँ दूतावासका प्रतिनिधि झाङ फानले भाषा सिकाइका माध्यमबाट दुवै मुलुकबीच शदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका उपसभापति याङ वेईले दुवै देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।