काठमाडौँ– निजगढ फाष्ट ट्रयाकको डिपिआरविनै निर्माण शुरु भएकोप्रति सांसदहरुको आपत्ती

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ । काठमाडौं–तराई जोड्ने दु्रतमार्गको प्रस्थान बिन्दु (जिरो पोइन्ट) सम्बन्धी विवादित विषयलाई चाँडै टुङ्गो लगाउने नेपाली सेनाले जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधीसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख तथा फास्ट ट्र्याक निर्माण आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले फास्ट ट्र्याकको जिरो पोइन्ट ललितपुरको खोकना कि फर्सिडोलमा बनाउँदा उचित हुने बिषयमा छिटै टुङ्गोमा पुग्ने बताउनुभएको हो ।

प्रमुख खाँडले फास्ट ट्र्याक निर्माणको सम्पूर्ण भौतिक अवस्थाको अध्ययनपछि मात्र (विस्तृत योजना प्रतिवेदन) डिपिआर बनाइने हुँदा डिपिआरले पनि जिरो पोइन्ट तोक्न सजिलो हुने बताउनुभयो । फास्ट ट्र्याकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने उहाले जानकारी दिनुभयो । खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जासमेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पूरानै मूल्याकंनअनुसार हुने उहाले बताउनुभयो । आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको उहाको भनाई छ ।

बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं–तराई–मधेश फास्ट ट्र्याकमा प्राविधिक समस्या भएको स्वीकार गर्नुभयो । यस विषयमा प्रधानमन्त्री लगायतसँग आफूले असन्तुष्टि राखेको बताउँदै महासेठले फास्ट ट्र्याकको पैसा भौतिक मन्त्रालयलाई पठाउनुभन्दा पनि डाइरेक्ट सेनालाई पठाए हुने तर्क गर्नुभयो ।

बैठकमा सांसदहरुले डिपिआर नै तयार नगरी फास्ट ट्र्याक निर्माणको काम अघि बढाइनु त्रुटिपुर्ण रहेको बताएका थिए । छलफलपछि समिति डिपिआर तत्काल निर्माण गरि योजनालाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको छ भने वातारणीय अनुकुलतालाई मध्यनजर गर्दे बिकास योजना अघि बढाउन पनि भौतिक योजना तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

सरकारले २०७४ मा फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०७४ साउन २७ बाट नेपाली सेनाले फास्ट ट्र्याक निर्माण सुरु गरेको हो । नेपाली सेनाले निर्माण सुरु गरेको करिब डेढ महिना पुग्नै लाग्दा पनि फास्ट ट्र्याकको जिरो पोइन्ट ललितपुर जिल्लाको खोकना कि फर्सिडोलमा बनाउने भन्नेबारे अझै विवाद छ ।