काठमाडौंका सडकमा आज बिजोर नम्बरका सवारीसाधन

title
बुधबार, भदौ १३, २०७५

काठमाडौं । बिम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आजदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ । विहानैदेखि सडकमा विजोर नम्बरका सवारी समय र सीमा तोकिएको छ।

गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागू हुने निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने व्यवस्थाअन्तर्गत राति १० देखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी पनि निर्वाध रुपमा सञ्चालनमा आउनसक्ने महाशाखाले जनाएको छ। हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत निर्वाध गुड्न दिइएको छ ।

अत्यावश्यक काममा हिँडेको पुष्टि भएमा त्यस्ता सवारीलाई समेत छाडिने महाशाखाले जनाएको छ। पत्रकारका हकमा भने सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन रोक लगाइएको छैन ।