काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु

title
शुक्रबार, फाल्गुन ३, २०७५

काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ ।

काठमाडौंको वडा नम्बर १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन सूरु गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तरगत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पार्नु भयो ।

अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उहाँले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्कलगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि स्मरण गराउनु भयो ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो ।