काठमाडौं रंग्याउन सरकारलाई चटारो !

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । सरकारले अहिले मुख्य सडकका खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको छ । सडकमा खाल्डा पुर्नका लागि कि त साउन मसान्त नै कुर्नुपर्ने अन्यथा अन्तर्राष्ट्रिय विशिष्ट पाहुना आउनुपर्ने अवस्था जस्तै देखिएको छ ।

साउन मसान्तबाट नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले सरकारले बजेट सकाउन पीच माथि पिच गर्ने नदेखिएको होइन । त्यस्तै विभिन्न शिखर सम्मेलन हुँदा पाहुनालाई देखाउन भए पनि रातारात रुख रोप्ने र सडक रंग्याउने काम पनि नभएको होइन हालै पनि सरकारले यस्तै काम गरेको छ ।

आउँदो भदौ १४ र १५ भदौमा हुने बिमस्टेकमा भाग लिन सदस्यराष्ट्रका प्रतिनिधि आउनेभएपछि सरकारलाई सडक टाल्न भ्याइ नभ्याइको अवस्था सिर्जना भएको हो । सदस्यराष्ट्रका प्रतिनिधि भदौ १२ बाटै काठमाडौं आउन थाल्नेछन् । त्यसैले काठमाडौं रंग्याउन सरकारलाई चटारो पनि परेको हो ।

हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका स्थानीयले विभिन्न प्रतीकात्मक विरोध गरे सडक निर्माणका कामले गति लिन सकेको देखिदैन ।

तर, अहिले मुख्य सडकमा खाल्डा देखिनु हुन्न, सडक विभागले टाल्न निर्देशन दिइहाल्छ । काममा पहिलेजस्तो ढिलासुस्ती पनि हुन्न, दिउँसै गाडी जाम गराएर भए नि पिच भइरहेको अवस्था छ ।