
फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई क्षेत्रमा वायु प्रदूषण बढेको हो ।
आज दिउँसो काठमाण्डौ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । उच्च वायु प्रदूषण भएका विश्वका ठूला शहरको सूचीमा भियतनामको हानोई शहरपछि नेपालको काठमाण्डौ रहेको विश्वभर वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरले जनाएको छ । दिउँसो काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई १९० भन्दा माथि पुगेको छ ।
एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ । दिउँसो काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रहरूले एक्यूआई १५० भन्दा माथि देखाएका छन् ।
काठमाण्डौ उपत्यकाबाहिर पनि धेरै शहरहरूमा वायु प्रदूषण उच्च रहेको वातावरण विभागको तथ्याङ्कले देखाएको छ । धनगढी, अछाम, सुर्खेत, दाङ, पोखरालगायतका ठाउँमा रहेका मापन केन्द्रहरूमा पनि एक्यूआई १५० भन्दा माथि छ ।
वायु प्रदूषण उच्च हुँदा श्वासप्रश्वासजन्य समस्यासहित आँखा, मुटुलगायतमा समस्या पर्ने भएकाले सावधानी अपनाउन डाक्टरहरूले सुझाव दिएका छन् ।