कामु प्रधानन्यायाधीशमा आजदेखि मिश्र

title
आइतवार, साउन २०, २०७५

जोशीले लिए १५ दिन बिदा
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्‍याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् । अब उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्नेछन् । मिश्रले नै कामु प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्च र न्यायपरिषद्को नेतृत्व सम्हाल्नेछन् ।

संवैधानिक परिषद्ले सम्भवत: उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

जोशी निकटस्थहरूका अनुसार अर्को व्यवस्था पूरा हुन जति समय लागे पनि उनी पुन: काममा फर्किने छैनन् । ‘उहाँ अब बिदामा बस्नुहुनेछ,’ सर्वाेच्चका सञ्चारविज्ञ किशोर पौडेलले भने, ‘अब उहाँ सर्वाेच्चमा पेसी तोक्न आउनु हुनेछैन ।’ राजीनामा पनि नदिने, पेसी पनि नतोक्ने उनको निर्णयले उनीविरुद्ध संसद्लाई तत्काल केही कदम चाल्न रोक्न सक्छ ।

पुन: काममा नफर्किन चेतावनी दिँदै नेकपाका नेताहरूले उनलाई राजीनामा दिन सुझाव पठाएका थिए । उनले भने विज्ञप्तिमार्फत प्रमाणपत्र विषयमा आफूमाथि अन्याय भएको जिकिर गर्दै स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।

न्यायपरिषद्का अनुसार मिश्र प्रधानन्यायाधीश भए पुस १८ गते उमेर हदका आधारमा अनिवार्य अवकाश पाउनेछन् । जोशी स्वीकृत भएको भए २०७६ असोज २३ सम्म न्यायालयमा रहने हुँदा मिश्रको प्रधानन्यायाधीश हुने बाटो खुल्ने थिएन ।

वैधानिक परिषद्ले जोशी, मिश्र र चोलेन्द्रशमशेर जबरा गरी प्रधानन्यायाधीश हुने योग्यता पुगेका तीन न्यायाधीशको नाम न्यायपरिषद्बाट पाएको थियो ।

तीमध्ये ज्येष्ठताका आधारमा परिषद्ले संसदीय सुनुवाइमा जोशीको नाम पठाएको थियो । तर, अस्वीकृत हुने पहिलो व्यक्ति बनेर बाहिरिन परेपछि जोशीले ‘पर्ख र हेर’ को नीति अख्तियार गरी बिदामा बस्ने बीचको बाटो रोजेको उनीनिकट एक अधिवक्ताको बुझाइ छ ।