कायराको ओपनिङ सुखद्, चलचित्र कस्तो ?

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । यो साता नेपाली चलचित्र बजारमा दुई चलचित्र कायर र झमकबहादुरबीच प्रतिस्पर्धा चलिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई चलचित्रमध्ये व्यापारिक रुपमा चलचित्र कायर धेरै माथि छ । त्यसो त चलचित्र प्रदर्शनको पहिलो दिनभन्दा दोस्रो दिन चलचित्र झमकबहादुर हेर्ने दर्शकको संख्या बढेको पाइए पनि कायरा हेर्ने दर्शक त्यो भन्दा पनि बढी छन् ।

गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रुद्रप्रिया’मा देखिएका नायक आर्यन सिग्दै झण्डै एक वर्षपछि कायरामा देखएिका छन् । चलचित्रमा उनलाई साथ दिएकी छिन् अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले । उनीहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । चलचित्रले आक्रामक ओपनिङ गरेपछि निर्माण पक्ष यतिखेर दंग सँगै व्यस्त बनेको छ ।

कलाकारसहितको टोली हलमा पुग्दै गर्दा दर्शकबाट उनीहरु दर्शकबाट घेरिएका पनि छन् । जसले ठूलो सन्तुष्टी मिलेको नायिका साम्राज्ञीले बताइन् । देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले फिल्मको ‘फस्र्ट डे’ अकुपेन्सी सुखद भन्न मिल्ने बताए । उनले शुक्रबार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास थियो ।

सिंगलभन्दा फिल्म हेर्न मल्टिप्लेक्समा दर्शक ओहिरिए, शनिबार यो प्रतिशत झन बढेको र सिंगल हलमा पनि दर्शकको चाप बढेको बताए । वितरक मानन्धरले शनिवार फिल्मको अकुपेन्सी झण्डै शतप्रतिशत पुगेको बताए । गीतसंगीत र ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रिया र आर्यन–साम्राज्ञीको क्रेजको कै कारण चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा समेत गरिएको छ । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ ।

फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् ।

चलचित्रका विषयमा नायक आर्यनले भने ‘मैले मायामा संघर्ष गरेर पनि असफल पात्रको भूमिका निभाएको छु । मायामा प्रायः असफल भएपछि यो ठाउँ र यो ठाउँसँग बसेको मायाबाट भाग्नका लागि ऊ नेपालबाट काहिं जानुपर्ने हुन्छ । त्यसैका लागि ऊ फिलिपिन्स जान्छ । फिलिपिन्स नै जानु पर्ने थिएन तर दर्शकलाई फ्रेस लोकेशन दिउँ भन्नका हामीले त्यो लोकेसन चयन गरेका हौं । कायरा र जयको प्रेममा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘कायरा’ मा परिस्थिति, चरित्र र क्यारेक्टरको आउटलुक फरक छ ।’

आर्यनले बालकदेखि वृद्धसम्मलाई इन्डिकेट गरेर बनाइएको लभस्टोरी फिल्म रहेको बताए । यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले टाइटल क्यारेक्टरमा आफू रहेको बताइन् । उनले भनिन्– ‘ब्रेकअप भएपछि कायरा स्याड हुने, चित्त दुख्ने, रुने, जे कुरा राम्रो होइन आफ्नो लागि त्यो कुरा गर्न मन लाग्ने फेजमा हुन्छ । त्यतिबेला उसले जयलाई भेट्छ । जय पनि रिलेशनसिपमा छ तर खुसी छैन । यी दुईजना साथी भएपछिको उचारचढाव हो–चलचित्र कायरा ।’

त्यसो त कायरासँग भिडन्त गर्न अन्ततः ‘झमक बहादुर’ले पनि पहिलो र दोस्रो दिन राम्रै व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । अपहरण र सुन तस्करीको कथा उठान गरेको चलचित्रले पनि अहिलेको तात्तातो कथावस्तुलाई उठान गरेको बताएको छ । चलचित्रमा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।

सह–निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् । निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताए । झमकबहादुरसँगको भिडन्तका कारण कायरा टोलीलाई केही फाइदा जस्तो देखिए पनि उसका लागि पनि चुनौती भने अवश्य देखिन्छ ।