
लाहुर । पाकिस्तानको पन्जाब प्रान्तको सरगोधामा रहेको सरकारी कलेज नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
दुर्घटनाबारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिँदै सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ । सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ। मृतकमध्ये पाँच जनाको सनाखत हुन सकेको छैन ।
स्रोतका अनुसार शनिबार ८ः३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो । नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइयो। गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ ।
गत महिना देशभर तीनवटा छुट्टाछुट्टै ग्यास सिलिन्डर विस्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।