किन फर्किए पशुपतिमा माग्ने

title
मङ्लबार, चैत्र १२, २०७५

सिर्जना मिश्र । पशुपति क्षेत्र विकास कोषले पाशुपत परिसरलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेको एक बर्ष बितेको छ । कोषले सडकमा बसेर माग्ने ‘सडक–मानव’ ले धार्मिक पर्यटकलाई दुःख दिएको भन्दै त्यस्ता मानिसलाई मानव सेवा आश्रममा राखेर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाउने अभियान सुरु गरेको हो । तर घोषणा कार्यान्वयनमा आएको बर्ष दिनसम्म पनि पशुपतिनाथ मन्दिर क्षेत्र अनाथ र असहायमुक्त बन्न सकेको छैन । त्यसोत, पशुपति क्षेत्र विकाष कोषले गत बर्षको चैत पहिलो साता पाशुपत क्षेत्रमा रहेका एक सय ५२ मगन्तेलाई एक साथ मानव सेवा आश्रममा लगेर यो क्षेत्रलाई मगन्ते मुक्त घोषणा गरेको हो ।

सडकमा बसेर माग्ने ‘सडक–मानव’ को गाँस, बास र कपासजस्ता मौलिक अधिकार सुनिश्चित गर्ने भन्दै थालीएको यो अभियान बर्ष दिनपुग्दा नपुग्दै असफल सावित भएको छ । सरकारले मानसिक एवं शारीरिक समस्याले सडकमा पुगेका नागरिकको व्यवस्थापनमा चासो नदिएको बेला कोषले मानव सेवा आश्रमसंग सहकार्य गरेर यो अभियान थाल्दा खुवै प्रशंसा बटुलेको थियो । तर यो बीचमा काठमाडौं महानगरपालिकाले दुई बर्षको भाडा तिर्ने गरि सञ्चालनमा ल्याइएको आश्रमको गोंगबु र बुढानिलकण्ठका दुई घर रित्तिदै गएका छन् । पशुपतिनाथ लगाएत उपत्यकाका मन्दिर तथा सार्वजनीक स्थलमा छ्याप्छ्याप्ती मगन्ते देखिन थालेका छन् ।

खुला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलमा घर परिवारविहीन भई कष्टपूर्ण जीवन बिताउन बाध्य नागरिकलाई उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाइएको दावी कोषको छ । तर पशुपतिनाथ लगाएतका क्षेत्रबाट आश्रममा लगिएकाहरु राम्रोसंग खान नदिएको र जीवनयापन सडकको भन्दा पनि कष्टपूर्ण बनेकाले आश्रम छाडेको दावी गर्छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री स्वर्गिय रविन्द्र अधिकारीले सुरु गरेको यो महत्वाकांक्षी योजना किन असफल भयो त ? सम्वद्ध निकायका अधिकारीहरु, योजना सफल हुंदै गएको र मुलुकभरका सबै मठमन्दिरबाट मगन्ते हटाउने दावी गरिरहेका छन् ।

तर एक बर्षको अनुभवले यो अभियान असफल भयो स्पष्ट संकेत गरेको छ । सरोकारवालाहरु भने मानव सेवा आश्रम सुधार गृह बन्न नसकेको र आश्रमले आध्यात्मिक र अन्य ज्ञान सिकाएर घर वा जागीरमा फर्काउने बातावरण बनाउनुपर्ने बताउंछन् ।