किराना पसल जस्तै खुल्छन् औषधी पसल : मापदण्ड हेर्ने निकाय माैन बस्दा जनस्वास्थ्य जाोखिममा

title
आइतवार, जेष्ठ १२, २०७६

सिरहा। औषधीको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम औषधि पसल खुलिरहेका छन्। किराना पसलजस्तै खुलेका ती औषधि पसलले समान्य मापदण्डको पनि ख्याल गरेका छैनन्। औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधी पसल अझ बढिरहेका छन्।

जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन्। जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृत रूपमा क्लिनिक तथा औषधी पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला बजार अनुगमन समिति र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरिरहेका छन्।

जिल्लामा कतिवटा अवैध औषधी पसल छन् भन्ने आधिकारिक तथ्यांक कसैसँग छैन। बजार अनुगमन गर्न आफूसँग स्रोत र साधनको अभाव भएकाले समस्या परेको औषधी व्यवस्थापन कार्यालय सिरहाले जनाएको छ।

सदरमुकाम सिरहा र शहरी क्षेत्रमा मात्रै नभई अहिले गाउँगाउँमा समेत यस्ता औषधि पसल खुल्दै गएकाले औषधीको जथाभावी व्यापार बढेको हो। ग्रामीण क्षेत्रका उपभोक्ताले रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधी पसलले सामान्य अनुभवकै भरमा बिक्री गर्ने गरेका छन्।

कतिपय औषधी व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको कुशहाका स्थानीयवासी सत्यनारायण चौधरीले बताउनुभयो। नियमानुसार औषधी पसल राख्न कम्तीमा तीन वर्षे फार्मेसी तहको अध्ययन पास गर्नुपर्ने भए पनि यहाँका तीन दर्जन यस्ता पसलेले सामान्य अनुभव बटुलेकै भरमा औषधीको व्यापार गरिरहेका छन्। रासस