कुमारी घर टेकोको भर

title
मङ्लबार, चैत्र १२, २०७५

मेनुका श्रेष्ठ । काठमाडौंको बसन्तपुरमा रहेको जिवित देवी कुमारीको घर टेकोको भरमा अडिएको झण्डै ४ बर्ष भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण जोखिममा परेको घर अझै पुनःनिर्माण नहुँदा ३ सय वर्ष इतिहास बोकेको संस्कृति समेत जोखिममा परेको छ । जहाँ जीवित देवी कुमारीको दर्शन गर्न दैनीक सयौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । तर यो कुमारी घरलाई २०७२ सालको भुकम्पले टेकोको भरमा पु¥यादिएको छ ।

जुन कुमारी घरको अवस्था देखेर घुम्न आउने पर्यटकहरु पनि त्रसित हुने गरेका छन् । सर्वसाधारणहरु पनि महत्वपूर्ण धार्मिक संरचनाहरुलाई राज्यले प्राथमिकता नदिएको भन्दै आक्रोसित छन् । ९० सालको भुकम्पपछि कुमारीको लेखाजोखा राख्दा अहिले सम्म यहि घरबाट करिब ५२ जना कुमारीहरु परिवर्तन भईसकेका छन् ।

भूकम्प गएको करिब ४ वर्ष पुग्नै लाग्दा कुमारी घरलाई कसरी पुर्नर्निर्माण गर्ने भन्ने समेत योजना बनाइएको छैन । यता, पुरात्तत्व विभागले भने कुमारी घर कसरी पुनःनिर्माण गर्ने भन्नेबारेमा अध्ययन भइरहेको जनाएको छ । अर्थात विभागसँग अझै पनि कुमारी घरको कसरी मर्मत गर्ने, कुन कुन भाग बिग्रीएका छन् भन्नेबारेको यथेष्ट सूचना समेत छैन । नेपालमा कुमारीलाई जीवित देवीका रुपमा पुजिने चलन छ ।

हिन्दु परम्परा अनुसार नेवार कुमारी बालिकालाई कुमारीका रुपमा मान्ने चलन छ । नेवार समुदायका मानिसहरुले विभिन्न चरणका छनोटका आधारमा कुमारी छान्ने परम्परा रहेको छ । जुन नेपालको धार्मिक र सांस्कृतिक धरोहरसँग समेत जोडिएको छ । तर यस्तो ऐतिहासिक महत्व बोकेको कुमारी घर भूकम्पको ४ बर्ष बित्नै लाग्दा समेत टेकोको भरमै रहनु लज्जाको बिषय हो ।