कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन, पितृको सम्झना

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । कुशे औंशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।

यसैबीच, उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।
पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो । कति भक्तजन शनिबार बेलुकी नै मन्दिर परिसरमै आएर बसेका थिए ।