केरलामा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय २४ पुग्यो, २ लाख भन्दा धेरै विस्थापित

title
आइतवार, भदौ ३, २०७५

भारत । दक्षिण भारतीय राज्य केरलामा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय २४ पुगेको छ ।

पछिल्लो दुई साताभन्दा धेरै लामो समयदेखि परेको मनसुनी वर्षाका कारण मारिनेको सङ्ख्या ३ सय २४ पुगेको टाइम्स अफ इण्डियाले लेखेको छ । बाढीबाट अरु दर्जनौं मानिसहरु अझै बेपत्ता रहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

त्यसबाहेक अरु २ लाख भन्दा धेरै विस्थापित भएका छन् । विस्थापितलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । हराइरहेका मानिसहरुको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा लैजान भारी मात्रामा डुङ्गा तथा हेलिकप्टर प्रयोग गरिएको छ । बाढीलाई यो शताब्दीकै सबैभन्दा भयानक बाढीको संज्ञा दिइएको छ ।

वर्षा कम हुँदै गएपछि उद्धार तथा राहत कार्य सहज बन्दै गएको बताइएको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत कार्यक्रम घोषणा गरेका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति भारु दुई लाख राहत रकम दिने घोषणा गरेका हुन् ।

उनका अनुसार बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि भारु ५० हजार उपलब्ध गराइनेछ ।