के हो शतबीज ? किन छरिन्छ शिवालयमा ?

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । आज बालाचतुर्दशी, देशभरका शिवालयमा शतबीज छरी पितृहरुको सम्झनामा गरिन्छ । बालाचतुर्दशीको दिन दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै शिवालयहरुमा सत्बीज छरी मनाइने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयमा सतबीज छर्न विहानैदेखि भक्तजनको भीड लागेको थियो । लाखौं भक्तजनले काठमाडौमा रहेको पशुपति क्षेत्रमा रहेको श्लेषान्तक क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सतबीज छरे ।

धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो, मूला मिश्रीत बीऊलाई शतबीज भनिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने र पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

अघिल्लो दिन अर्थात् त्रयोदशीका दिन शुद्ध भई साँझ शिवालय पुगेर पितृका नाममा दीप बाली रातभर जाग्राम बस्ने चलन छ। बिहान सबेरै बत्ती नदीमा सेलाएर स्नान गरी शिवालयमा शतबीज छर्ने चलन छ।

के हो शतबीज ?

बोलीचालीमा सद्बिउ भनिए पनि संस्कृतमा यसलाई शतबीज भनिन्छ। शत अर्थात् सय र बीज अर्थात् बिउ। विभिन्न खाद्यान्न फलफूलहरू शतबीजमा पर्छन्।

शतबीजमा विशेषगरी धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइन्छ। यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुन्छन्। यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूलहरू पनि मिसाइने गरिन्छ ।

किन छर्ने ?

शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ भन्ने विश्वास छ। आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमहरूको पालना गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीज छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुने विश्वास गरिन्छ। शतबीज छर्दा पितृहरूले मोक्ष पाउने बताइन्छ।