क्यान विवाद सुल्झिने संकेत

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । क्रिकेट विवाद समाधानका लागि स्वतन्त्र समितिको बैठक मंसिर २१ देखि २३ गते बस्ने भएको छ । नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको बैठकमा आइसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन् ।

स्वतन्त्र समितिको बैठक आगामी मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ । स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन् । यसअघि पनि बारम्बार आइसीसीका प्रतिनिधी नेपाल आएर छलफल गरेपनि विवादको निकास निक्लिन सकेको छैन ।

अब स्वतन्त्र समितिको बैठकपछि भने यसको निकास निस्किनेमा आशा गरिएको छ । केही दिन अगाडि मात्र निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल एसीसीको बैठकमा पुगेर नेपालको निलम्बनका बारेमा छलफल गरेका थिए । बैठकमा मुख्य गरी २ विषयमा छलफल हुनेछ । निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेको पहल र जिल्लाको हकमा आइसिसीलाइ पठाइएको प्रतिवेदन मुख्य एजेन्डा हुने जनाइएको छ ।