क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

title
मङ्लबार, साउन २२, २०७५

केही दिनमै बन्द प्रशिक्षण, छनोट खेल अगष्ट २९ तारिखदेखि मलेसियामा हुने 
काठामडौं । नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टोलीले अबको लक्ष्य एसिया कप छनोट रहेको जनाएको छ । सोमबार स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कपमा स्थान बनाउनु रहेको बताए ।

कप्तान खड्काले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए । उनले भने–‘पहिलो ओडीआई ऐतिहासिक भयो’, ‘आगामी दिनमा नेपालले धेरै म्याच खेल्नेछ । आफ्नो देशको लागि खेल्दा हरेकपल्ट देशलाई जिताउने प्रयास भइरहेको हुन्छ ।

तर खेलमा कहिले जित र कहिले हार त अवश्य हुन्छ ।’ उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए । नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट श्रृखंला खेलेर सोमबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग पारसले भने ,‘एसिया कप नजिकिएको अवस्थामा अबको यात्रा एसिया कपलाई छनोट हुने हो । हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ । छनोटमा राम्रो खेल्दै एसिया कपमा छनोट हुने योजना छ ।’

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएपनि दोस्रो खेलमा भने १ रनले विजयी भयो । नेपालको जितमा कप्तान खड्का नायक बने । पारसले अन्तिम बलमा नेपाललाई जित दिलाएका थिए । पहिलो खेलमा नेपाल जित नजिक पुगेर पनि हार्न परेको थियो । यसबारे कप्तान खड्का भने ‘राम्रो सुरुवात भएपनि ब्याटिङ जम्न सकेन ।

जहिले पनि सुरुवात राम्रो भएन भन्थ्यौं । राम्रो सुरुवात हुँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनौं । २० ओभरपछि हाम्रो ब्याटिङ चल्न सकेन ।’ त्यस्तै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले भने, ‘नेदरल्यान्ड्स सिरिज एकदमै राम्रो भयो । हामीले जुन किसिमको परिश्रम गरेका थियौं, त्यो गरेर देखाएका छौं । पहिलो खेलमा हामीले ब्याटिङ गर्न सकेनौं । बलिङ र फिल्डिङ उत्कृष्ट ग¥यौं तर हामी ब्याटिङमा चुक्यौं । तर हामीले दोस्रो खेलमा राम्रो प्रदर्शन गर्दै जित सुनिश्चित ग¥यौं ।’

इंग्ल्यान्ड हुँदै नेदरल्यान्ड्स भ्रमण सकेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिम अब केही दिनमै बन्द प्रशिक्षणमा हुनेछ । यही अगष्ट २९ तारिखदेखि मलेसियामा हुने एसिया कप छनोटमा नेपालले पनि भाग लिँदैछ । छनोटमा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, युएई, हङकङ र ओमन रहेका छन् ।

६ टिमले सहभागिता जनाउने छनोट खेलको विजेताले युएईमा सेप्टेम्बर १५ देखि २८ तारिखसम्म हुने एसिया कप खेल्न पाउनेछ । अब नेपाली क्रिकेट टिमको मुख्य लक्ष्य भनेको एसिया कपमा छनोट हुनु हो । त्यसो त नेपालकै हैसियत भएका टिमहरूले छनोट खेल खेल्दैछन् । नेपालका लागि मुख्य प्रतिद्वन्द्वी भनेको युएई र हङकङ हुन् । युएई ओडीआई मान्यता प्राप्त मुलुक हो ।

यूरोप भ्रमणका क्रममा नेपाली टोलीले नेदरल्यान्ड्सविरुद्ध डेब्यू सहित दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यसअघि टोलीले लर्डसमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा खेलेको थियो । जसमा नेपाल र नेदरल्यान्ड्स संयुक्त रुपमा विजेता बनेका थिए । ट्वान्टी ट्वान्टी श्रृखंला अघि नेपालले ४ वटा अभ्यास खेल समेत खेलेको थियो । जसमा तीन खेलमा जित हात पारेको थियो ।