क्रिकेट टोली आज फर्किदै, यूरोप यात्रा सुखद्

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किने भएको छ । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीले पाएको सफलताको खुशीयालीमा नेपाली टोलीलाई भव्य स्वागतको तयारी थालिएको छ । नेपाली टोली सोमबार बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छ ।

विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, सरकारी कर्मचारी तथा खेल प्रेमी दर्शकको उल्लेख्य उपस्थिति रहनेछ । जहाँ नेपाली खेलाडीलाई भव्य स्वागत गरिनेछ । नेपालले एक दिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा १ रनको रोमाञ्चक जित पार्दै सिरिज बराबरी बनाउ सफल भएको थियो । ऐतिहासिक एक दिवसीय खेलमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि पनि हो । नेपाली टोलीले जित हासिल गरेसँगै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र खेलप्रेमीले नेपाली क्रिकेट टोलीलाई बधाई तथा आगामी दिनमा अझ सशक्त प्रदर्शन रहोस् भन्दै शुभकामना प्रदान गरेका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको हो । नेपाली टोली डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि गत साउन २ गते युरोप भ्रमणमा निस्केको थियो । यूरो भ्रमण अवधिभर नेपाली क्रिकेट टोलीको प्रदर्शन शानदार रह्यो । नेदरल्यान्डविरुद्धको ऐतिहासिक एक दिवसीय सिरिजलाई नेपालले बराबरी गर्न सफल भयो ।

लण्डनको लर्डस् मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि  नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा विजयी भए । यी दुई प्रतियोगिता खेल्नु अघि नेपाली टिमले लन्डनका स्थानीय टिमसँग समान दुई टी–ट्वान्टी र एक दिवसीय खेलेको थियो । अभ्यास खेलमा नेपालले तीन खेलमा जित हात पारेको थियो । यो पनि नेपाली खेलाडीको अर्को सफलता थियो । समग्रमा नेपाली टोलीको यूरोप भ्रमण आम नेपालीका लागि नै गर्व गर्न लायक बनको थियो ।

यसैबीच नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले एक दिवसिय मान्यता प्राप्त गरेपछिको पहिलो विदेश भ्रमण समग्रतामा सफल रहेको बताएका छन् । उनले टी–२० सिरिजभन्दा पनि एक दिवसीय सिरिज जित्नु नै नेपाली टोलीको प्रमुख लक्ष्य भएपनि पहिलो खेल सम्हालिन नसक्दा नेपाली टोलीले पराजिय व्यहोर्नुपरेको बताए । उनले भने– ‘दोस्रो खेलमा हामी अन्तिमसम्म लड्यौं, आशा छोड्न हुन्न भन्नेमा हामी सचेत भयौं र धर्यता टुट्न दिएनौं, सफल भयौं ।’