क्षतिग्रस्त सम्पदाको निर्माणमा ढिलाई नगर्न प्रधानमन्त्रीको आग्रह

title
बिहिबार, बैशाख १२, २०७६

काठमाडौ । प्रधानमनत्री केपी ओलीले भूकम्पले क्षतिग्रस्त सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गर्नुभएको छ

काठमाडौ महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज काठमाडौंको बसन्तपुरमा गरेको बिनासकारी भूकम्पको चौथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने भन्दै सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले सम्पदा पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाएको भन्दै अबको २० महिनाभित्र पूर्णतामा पु¥याउने दाबी गर्नुभयो । उहाँले केहि स्थानका सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको भन्दै बाँकी काम पनि छिटो सकिने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले ऐतिहासिकतालाई तोडमोड नगरी सम्पदाको निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केहि स्थानको सम्पदा निर्माणमा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो । काठमाडौ महानगर रहेको बागदरवारको निर्माण कार्य अघि बढाउन नदिंदा कार्यसम्पादनमा समस्या परेको उहाँले बताउनुभयो ।

कार्यक्रमपछि प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभयो । प्रधानमन्त्रीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर शाक्यले ब्रिफिङ गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सोही क्षेत्रमा रहेको पुननिर्माण हुँदै गरेको काष्ठमण्डपको पनि अवलोकन गर्नुभएको थियो ।