क्षयरोगबाट संक्रमितको संख्या २१ लाख ५० हजार

title
सोमवार, चैत्र ११, २०७५

एजेन्सी। भारतमा सन् २०१८ मा क्षयरोगबाट संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार पुगेको छ ।

भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा संक्रमण भएको छ । मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा यो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सन २०१७ मा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्रै रहेकोमा सन् २०१८ मा ८३ प्रतिशत पुगेको छ । विज्ञप्तिअनुसार पहिलेका वर्षहरुमा भारतमा क्षयरोग संक्रमण हुने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।

विश्वमा रहेका क्षयरोगीहरुमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् । भारत सरकारले सन् २०२५ सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष लिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगहरुमध्ये प्रमुखमा पर्दछ ।

विश्वभरमा सन् २०१७ मा मात्र करिब एक करोड नागरिकमा क्षयरोगको संक्रमण भएको देखिएको थियो ।