खाद्यान्न आत्मनिर्भरमा चुक्यो सरकार, वार्षिक ३० अर्बको चामल आयात

title
बिहिबार, असार १९, २०७६

सन्तोष विके थापा । कृषि प्रधान देश नेपालको विगत हेर्दा १५ वर्षअघिसम्म उत्पादित खाद्यवस्तु निर्यात गथ्र्यो । तर, पछिल्लो समय कृषि पेशाप्रतिकै वितृष्ण, खेतीयोग्य जमिनमा भएको खण्डिकरणलगायतका कारण उत्पादन घटेको छ भने अर्बौं रकमको खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ ।

खानाकै लागि वार्षिक ३० अर्बको चामल विदेशबाट ल्याइने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । त्यसोत, कृषि उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने योजना बनाएको सरकारले योजना प्रभावकारी कार्यान्वयन गर्न नसक्दा अबौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ ।

३० लाख हेक्टर कृषि योग्य जमिन विस्तारै घट्दै गएको छ । अव्यवस्थित शहरीकरण, जथाभावी बस्ती विस्तारले कृषियोग्य जमिन घटिरहेको छ भने, उत्पादित खाद्यान्न पनि घट्दै गएको छ ।

गत वर्षको तथ्यांक हेर्दा १४ लाख ९१ हजार हेक्टरमा रोपिएको धान ५६ लाख १० हजार मेट्रिकटन उत्पादन भएको छ। नेपालको प्रमुख खाद्यबालीमध्येको एक धान उत्पादन बर्सेनी घट्दै गएको भन्दै कृषिविज्ञ भोलामान सिंह बस्नेतले सरकारले कृषिमा आधुनिकीकरण गर्न नसक्दा बर्सेनी उत्पादन घट्ने र लागत बढ्ने अवस्था रहेको दाबी गर्छन ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक कार्यक्रममा अब कोही भोको बस्नुपर्ने अवस्था आउँदैन भन्ने गरेका छन् । त्यसो त आगामी आर्थिक वर्षको बजेटमा पनि भोकमरीको समस्या हल गर्ने उल्लेख गरिएको छ ।

तर, नीति र भाषणजस्तो काम नुहँदा समस्या बढ्दो छ । खाद्यसंकट कम गर्न विदेशबाट चामल ल्याउने गरिएपनि अहिले खाने संस्कृति फेरिएको छ । नेपाल भित्रने चामलमध्ये बास्नादार चामलको मात्रा धेरै छ ।

उत्पादन नगर्ने अनि विलासितामात्र खोज्दा यो समस्या चुलिँदो अवस्थामा पुगेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीको भनाई छ ।चालु आर्थिक वर्षको १० महिनामा ७ लाख ५० हजार मेट्रिकटन बास्नादार चामल आयात भएको छ ।

आयात दर यस्तै रहे यो वर्ष चामल किन्नकै लागि मात्रै साढे ३२ अर्ब खर्चिनुपर्नेछ । यसलाई व्यवस्थापन गर्न सरकारले उचित नीति लिन आवश्यक छ ।

अझै पनि नेपाली किसान आकाशे पानीमा निर्भर रहँदा भनेजस्तो उत्पादन भएको छैन । त्यसैले उचित मलखाद, विउबिजन र सिचाइँको प्रबन्ध मिलाउन सके देश खाद्यान्नमा आत्म निर्भर बन्न सक्ने निश्चित छ ।