गणेशलाई लड्डु चढाउनुको धार्मिक कथन यस्तो

title
बिहिबार, भदौ २८, २०७५

काठमाडौं । कुनै पनि कार्य सफलतामा प्रायः प्रयोग हुने चिज हो– लड्डु । पूजाआजा गर्दा पनि लड्डुको प्रयोग अधिकमात्रामा हुन्छ । अरुभन्दा अझ विशेष रुपमा भगवान् गणेशको पूजामा प्रयोग गरिने लड्डुले विशेष अर्थ राख्ने धार्मिक मत छ ।

घरमा गरिने सामान्य पूजा होस् वा मन्दिरमा गरिने ठूला ठूला अनुष्ठान गणेश पूजाका क्रममा नैवेद्यका रूपमा लड्डु चढाइन्छ। गणेशचौथी वा म‌ंगलचौथीमा पनि ठूलो मात्रामा लड्डुको भोग लगाइन्छ। किन चढाइन्छ त शिव र पार्वतीका पुत्र गणेशलाई लड्डु ?

यो विषयमा पुराणमा एउटा कथा छ। एकपटक भगवान् गणेश र परशुरामबीच घमासान युद्ध भयो। त्यस क्रममा गणेशको सबै दाँत झर्न पुग्यो। यसकारण उनलाई खानसमेत कठिन हुन थाल्यो। यसैकारण उनलाई खुवाउने सजिलो पदार्थको खोजी भयो। समाधान निस्कियो– लड्डु।

त्यसैले उनका लागि लड्डु बनाउन थालियो। लड्डु ज्यादै नरम र नचपाई खान सकिने भएका उनको सबैभन्दा प्रिय बन्यो, त्यसैले उनको नाम नै रह्यो मोदकप्रिय।

लड्डुलाई संस्कृतमा मोदक भनिन्छ। मोदकप्रिय अर्थात् लड्डु मन पराउने। लड्डुको अर्थ हो आनन्द वा खुशी। त्यसैले गणेशलाई लड्डुको भोग लगाउने परम्परा बस्यो। लड्डुलाई ज्ञानको प्रतीक पनि मानिन्छ।

भगवान् गणेशलाई ज्ञानको देवता भनिन्छ। अर्को अर्थमा दाँत नआएका बालकदेखि दाँत झरेका वृद्धसम्मलाई खान सजिलो हुन्छ, लड्डु। त्यसैकारण भगवान् गणेशलाई भोग लगाउने र प्रसादका रूपमा मानिसले लिने चलन चलेको बताइन्छ ।