गण्डकी प्रदेशबासीले अब पोखराबाटै श्रम स्वीकृति पाउने

title
बिहिबार, पुस २६, २०७५

भुपाल गुरुङ/कास्की । वैदेशिक रोजागरीमा जानेहरुले सहजताकासाथ पोखराबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवाग्राहिलाई श्रम स्वीकृतिको टिकट हस्तान्तरण गरि सेवाको सुभारम्भ गर्नुभएको हो । श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै मन्त्री विष्टले पुनः श्रम स्वीकृति लिन काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

उहाँले सातवटै प्रदेशबाट पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था सरकारले गरिरहेको भन्दै केहि दिनमै सबै किसिमका सेवा प्रदेशबाटै उपलब्ध हुने बताउनु भयो ।पोखराको शहिदचोकमा श्रम तथा रोजगार कार्यालय स्थापना गरि बिहीवारदेखि सेवाग्राहिले सेवा लिन शुरु गरेका छन् ।

कार्यालयले पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने र पछि पूर्व स्वीकृतिको काम पनि गरिने बताएको छ । कार्यालयबाट प्रदेशभित्रका मात्रै नभई सबै प्रदेशका व्यक्तिले पनि सेवा लिन पाउनेछन् । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

पोखरामा खोलिएको कार्यालयबाट श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले बताउनुभयो ।