गण्डकी मेडिकल कलेज सञ्चालकको मनपरी, विद्यार्थी आन्दोलित

title
शनिबार, फाल्गुन ११, २०७५

कास्की । सरकारले तोकेको मापदण्ड बाहिर गएर गण्डकी मेडिकल कलेजले बिद्यार्थी भर्ना गरेको भन्दै सुरु भएको आन्दोलनका कारण उपचार सेवा प्रभावित बन्न थालेको छ । सरकारी नियम बिपरित भर्नाका क्रममा लिएको अतिरिक्त शुल्क फिर्ता, मेडिकल कलेज भित्रका बिकृती बिसंगती अन्त्य लगाएतको माग सहित बिद्यार्थीहरु फाल्गुण १ गते देखि रिले अनसनमा छन ।

२०१५ को ब्याच देखिका बिद्यार्थीसंग कलेजले गैरकानूनी रुपमा शिक्षण शुल्क शिर्षकमा जथाभावी पैसा असुलेको बिद्यार्थीको दावी छ । सरकारले तोकेभन्दा बढी अतिरिक्त शुल्क लिने गरेको र तिरेको पैसाको बिल भौचर समेत उपलब्ध नगराएको बिद्यार्थीको गुनासो छ ।

कार्यान्वयनमा समस्या देखिए पनि सरकारले यसअघी नै मेडिकल कलेजहरुले बिद्यार्थीहरुसंग अतिरित्त शुल्क लिन नपाउने निर्णय गरिसकेको छ । बिद्यार्थीहरुको भनाईमा, गण्डकी मेडीकल कलेजले सरकारी निर्णय पालना गरेको छैन । सुरुमा ३ सातासम्म सेवा तथा पढाईमा असर नपर्ने गरी आन्दोलन गरेपनि त्रिवि प्रशासन तथा कलेज प्रशासनले चासो नदिएपछि बिद्यार्थीहरु अनसनमा बसेका हुन् । जसबाट अस्पतालको उपचार सेवामा असर परेको छ ।

मेडिकल कलेज प्रशासनले भने, फाल्गुण ८ गते नै बिद्यार्थीलाई बार्ता र संवाद बाट निकास खोज्न आह्वान गरेको तर विद्यार्थीले छलफल गर्नै नचाहेको दावी गरेको छ । कलेजमा आन्दोलन चर्किएपछि त्रिभुवन विश्वबिद्यालय अनुगमन निर्देशानालयबाट खटिएका ३ जना अनुगमन सकेर काठमाडौ फर्कि सकेका छन् । तर बिद्यार्थीले उठाएको माग संवोधन भएको छैन । जसको असर फाल्गुण १२ गते आईतवारदेखि हुने तेस्रो बर्षको परिक्षामा समेत असर पर्ने भएको छ ।

विद्यार्थीको आन्दोलनपछि स्थानीय बासिन्दा समेत आन्दोलित हुनसक्ने देखिएको छ । स्थानीयबासिन्दा देविप्रसाद पौडेलका अनुसार मेडिकल सञ्चालक खुमा अर्यालले सबै राजनीतिक तहदेखि भारत र चीनका नेपालस्थित उच्च अधिकारीसँग आफ्नो सम्बन्ध रहेको र कसैले केही गर्न नसक्ने दाबी गर्दै हिडेका छन् । सञ्चालक अर्यालले स्थानीय गुण्डाको प्रयोग गरी अध्ययनरत विद्यार्थीहरुलाई तर्साउने गरेको अध्ययनरत विद्यार्थीहरुले नाम नबताउने सर्तमा विद्यार्थीहरुले जानकारी दिएका छन् ।