गर या मरको खेलमा नेपाल निरिह, ७ विकेटको पतन

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र हङकङ भिडिरहेका छन् ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गरिरहेको छ । समाचार तयार पार्दा २६ ओभरको खेल सकिँदा नेपालले मात्र ६७ रनमा ७ विकेट गुमाइसेको छ ।

सातमध्ये चार खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । अनिल कुमार साहले सर्वाधिक १५ रनको योगदान दिए भने कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रनको योगदान दिएका छन् ।

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ । मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।