गाउं अझै अन्धकार !

title
शनिबार, चैत्र २, २०७५

आश गुरूङ-लमजुङ । जलविद्युतको हव जिल्ला भनेर चिनिने लमजुङमा दर्जन भन्दा बढी जलविद्युत आयोजनहरु सञ्चालनमा छन् । लमजुङमै उत्पादन गरेको विजुलीले देशभर झिलीमिली भएपनि लमजुङ जिल्लाका स्थानीय भने टुकीको भरमा बस्न बाध्य छन् ।

त्यसोत, लमजुङमा उत्पादित विद्युत खेर गईरहेको छ तर जिल्लाको दोर्दी गाउँपालिका वडा न.ं ७ मा पर्ने फलेनी, दुईघारे, माझखर्चा, सिङ्ली, दैलुङ, नागी, लस्सीवोट लगायतका करिब एक दर्जन गाउँमा विद्युतीकरण हुन नसक्दा स्थानीय निराश भएका छन् । गाउँमा पोल गाड्न सुरु गरे पनि पोलहरुमा तार टांगिएको छैन । विद्युत पोल र तारहरु जताततै छरिएको छ ।

विद्युतीकरण नहुंदा दैनिक जीवनचर्यामा निकै कठिनाई भएको स्थानीयको गुनासो छ । विजुली नहु“दा कुटानी पिसानीको लागि मिल सम्म छैन । साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गर्न नपाएपछि पढाई प्रभावित भएको स्थानीय बताउँछन् ।

विद्युतीकरण नहुँदा वडा कार्यालयका काममा समेत निकै समस्या भएको स्थानीयको गुनासो छ । ठेकेदारले काममा ढिलाई र लापर्वाही गरेको कारण विद्युतीकरणमा ढिलाई भएको जनप्रतिनिधि बताउँछन् । दोर्दी गाउँपालिका भित्र करिब तीन सय पचास घरधुरीमा अहिले सम्म विद्युत पुगेको छैन ।

मेमे पोखरी विद्युत सहकारी संस्थाले विद्युतीकरणको जिम्मा लिएको थियो । यसको टेण्डर २०७३ सालमा २ करोड २८ लाखमा जनमुखी कन्ट्रशनले लिएको छ तर विजुली गाड्ने तर विद्युतीकरण नगरेपछि स्थानीय रुष्ट छन् ।