गीतमार्फत विदेशिदाको पीडा पोखे सञ्जीवले

title
सोमवार, साउन ७, २०७५

काठमाडौं । लमजुङ स्थायी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका गायक, गीतकार तथा संगीतकार समन सञ्जीव तामाङले आफ्नो दोस्रो गीत बजारमा ल्याएका छन् । यसअघि ‘संसार तिम्रै’ बोलको गीत बजारमा ल्याएका सञ्जीवले ‘विदेशिएँ आफ्नै गाउँघर छोडी…’ बोलको दोस्रो गीत बजारमा ल्याएका हुन् ।

दोस्रो गीतमा मातृभूमीप्रतिको माया छताछुल्ल भएको छ । निकै नै सुरिलो श्वरका धनी सञ्जीवले आफ्नो यो गीतमा विदेशी भूमिमा भोगेका पीडा र यस्ता पीडाले गराउने मातृभूमिप्रतिको मायालाई पस्केका छन् । गीतमा जन्मिएको ठाउँ छोडी विदेशी भूमिमा संघर्ष गर्दाको पीडा पोखेका छन् भने गीतमार्फत आफ्नो मातृभूमीका डाडा पाखा, साथीसँगी तथा दौतरीलाई सम्झेका छन् ।

बुढेसकालका बुवा–आमाको साहार बन्नुपर्ने अवस्थामा विदेशिनु रहर नभइ बाध्यता भएको र यही बाध्यताले गुम्सिएको अन्तरआत्माको व्यथालाई गीतमार्फत पोखेका छन् । गीतका हरेका शब्दले श्रोताको ध्यान खिच्नेमा उनी ढुक्क छन् । उनले यो गीत आफ्नो जीवनको व्यथा मात्र नभएर विदेशीएका आम नेपालीलाई समेत प्रतिनिधित्व गर्ने बताए ।

त्यसो त हाल उनी मलेसियामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृति र गीतलाई माया गर्दै आएका छन् । आफ्नै रचना तथा स्वर रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन रहेको छ । गीत ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा छायांकन भएको हो । सनम सानैदेखि गीत संगीतमा लागेका स्रष्टा हुन् ।

उनले आफ्नो भित्री इच्छा भएकै सांगीतिक क्षेत्रका यात्रा अगाडि बढाएका हुन् । प्रवासमा रहेर नै दर्शक तथा श्रोताका लागि उनले ल्याएको दोस्रो कोशेली ‘विदेशिएँ आफ्नै गाउँघर छोडी..’लाई माया गरिदिन उनले आग्रह गरेका छन् । दर्शक र श्रोताको प्रतिक्रियाले आफूमा रहेका कमी कमजोरी पत्ता लाग्ने र यस्ता कमी कमजोरी आगामी दिनमा सुधार्दै लैजाने उनले बताए ।