गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने पसललाई कार्वाही गर्ने सरकारी चेतावनी

title
मङ्लबार, बैशाख ३१, २०७६

काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।

उहाँले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउनु भएको छ । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सार्नु भयो ।

उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भईरहेको पनि बताउनु भयो ।