‘गुनगुन’मा चन्दाको बबाल आइटम डान्स

title
बिहिबार, साउन २४, २०७५

काठमाडौं । अभिनेत्री संचिता लुईंटेल स्टारर फिल्म ‘गुनगुन’ को आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको फिल्मको ‘काजु किसमिस…’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन् ।

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । फिल्मको कथालाई अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण रहेको निर्माण पक्षको भनाइ छ ।

पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कात्तिक ३० गते हुने घोषणा गरेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्र्ड प्रिमियर हुने प्रेम कथामा आधारित यस फिल्मलाई उपत्यका बाहिर आर.आर फिल्म्स र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्नेछन् ।

निर्माता भट्टराईले आफूले कलाकारिता मार्फत संगालेको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताए । उनले भने– ‘मैले केहि सर्ट फिल्म र भाषाभाषीको फिल्म त निर्माण गरिसकेको छु तर फिचर फिल्म भने पहिलो हो ।

यस क्षेत्रमा भएकोले मैले यसै क्षेत्रसँग सम्बन्धित रहेर काम गर्ने मनसाय बनाउदै कलाकारितासँगै निर्माण र निर्देशनमा पनि आफुलाई अगाडी बढाएको छु । फिल्ममा प्रेम कथासँगै सामाजिक विषयवस्तु पनि रहेका छन् । फिल्ममा दर्शकले भरपुर मनोरंजन पाउनु हुनेछ । यसको वर्ल्ड प्रिमियर अस्ट्रेलियामा सेप्टेम्बर १५ मा गर्दैछौं ।’