‘गुनगुन’ अष्टले हटाउँदा पुकारले मागे क्षतिपूर्ति

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौं । नेपाली चलचित्रमा सवैभन्दा बढी सेयर दिने राजधानीको बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनरत चलचित्र गुनगुन पहिलो दिनबाटै पर्दाबाट उतारिएपछि निर्माता पुकार भट्टराईले आक्रोशित बन्दै क्षतिपूर्तिको माग राखेका छन् ।

गत कार्तिक ३० गते देखि रिलिज भएको फिल्म ‘गुनगुन’लाई बालाजुस्थित अष्ट नारायण हलले शुक्रबार रिलिज भएकै दिन हलबाट हटाइएको थियो । बिना जानकारी अष्टनारायण हलले आफ्नो फिल्म हटाएपछि निर्माता पुकारले क्षतिपूर्तिको माग गर्दै हललाई कारबाही गर्नु पर्ने माग राखेका छन् । फिल्म निर्माण र प्रर्दशन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारबाही माग गरेर निर्देशक समेत रहेका भट्टराईले चलचित्र निर्माता संघमा निवेदन दिएका छन् ।

पत्रमा निर्मातालाई जानकारी विना नै फिल्म हटाएको उल्लेख गरिएको छ । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक–अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्नपर्ने चेतावनी समेत दिइएको छ । निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । हुनत, ‘गुनगुन’ माथि भएको अत्याचार एक प्रतिनिधि उदाहरण मात्र हो । ठूला भनिएका सिंगल थिएटरबाट नेपाली निर्माताले पटक–पटक सास्ती खेप्दै आएका छन् ।

यसअघि गोपीकृष्णले ‘रामकहानी’ माथि गरेको विभेद एउटा गतिलो उदाहरण हो । कलाकार समेत रहेका निर्देशक भट्टराईले ‘गुनगुन’ ले राम्रो व्यापार गरिरहँदा अष्टनारायणले फिल्म हटाएको बताएका छन् । यता हल व्यवस्थापन पक्षले भने चलचित्र हेर्न दर्शन नआएपछि चलचित्र हलबाट हटाइएको स्पष्ट पारेको छ । त्यसो त चलचित्रको कथा वस्तु अब्बल नहुँदा हलले आफ्नो खर्च नउठाउने अवस्था आएपछि चलचित्र प्रदर्शन गरिराख्ने कुरा पनि भएन ।

निर्माता र हल व्यवसायीबीच कुनै मनमुटाव नभए पनि चलचित्रले दर्शक बटुल्न नसकेपछि चलचित्र पर्दाबाट उतारिएको हुनसक्ने चलचित्रवृत्तमा एकथरीको चर्चा छ भने अर्कोथरीले भने गुनगुन टोलीमाथि अत्याचार गरिएको दाबी गरेका छन् । यता गुनगुन टोलीले पनि आफूहरुमाथि अत्याचार गरिएको भन्दै कारबाहीको माग गरिएको जनाएको छ ।

फिल्ममा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचेलगायतको अभिनय छ । ‘गुनगुन’ मा सञ्चिता लुईंटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय रहेको छ ।