गृहमन्त्री थापापुत्र प्रतिकले गरे मृगौलापीडित बालकलाई यस्तो सहयोग

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाका छोरा समेत रहेका प्रमुख स्वकीय सचिव प्रतिक थापाले मृगौला पीडित बालकलाई सहयोग गरेका छन् ।

सर्लाहीका मृगौला पीडित बालक आदर्श नायकको उपचार गर्न काठमाडौ आएकी उनकी आमा आशा व्यारले आवश्यक रकम जुटाउन बालकलाई गौशालाको ओम प्यालेस होटलमा  राखेर सर्लाही गएको तर २ महिनासम्म पनि फर्केर नआएको खबर थाहा पाएपछि थापाले तत्कालै स्थानीय प्रहरीलाई खबर गरी बालकलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

२ महिनासम्म होटलमा बसेका नायकको परिवारले तिर्नुपर्ने सबै रकम तिरेर अस्पताल पुर्‍याएका हुन् । थापाले २ महिनादेखि बालकलाई छाडेर सर्लाही पुगेकी आमा आशालाई काठमाडौ बोलाएर बालक जिम्मा समेत लगाएका छन् ।

थापाले मन्त्रीको स्वकीय सचिवबापत पाउने पैसाबाट बालकलाई सहयोग गरेको बताएका छन् । होटलबाट उद्धार गरी ७ वर्षीय बालक नायकलाई अस्पताल लगेपछि उनको अहिले डायलासिस भइरहेको छ । बालक नायकको उपचारमा समेत आर्थिक सहयोग गर्ने थापाले प्रतिवद्धता जनाएका छन् । थापाले यसअघि पनि धेरैलाई सहयोग गरेको बताएका छन् ।