गोजीमा दाम छैन पछि अहिले ‘ढल्की ढल्की नाचन’

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । आउँदो कात्तिक १६ गतेबाट दर्शकमाझ आउने चलचित्र ‘चङ्गा चेट’को दोस्रो गीत ढल्की ढल्की सार्वजनिक भएको छ । चलचित्रको पहिलो गीत गोजीमा दाम छैनको अपार सफलतापछि निर्माण पक्षले ढल्की ढल्की सार्वजनिक गरेको हो ।

चलचित्रको पहिलो गीत ‘गोजीमा दाम छैन’लाई यूट्युबमा ४५ लाख बढीले हेरिसकेका छन् । म्यूजिकल्लीमा पनि यो गीत अग्रस्थानमा छ । चलचित्रको यही गीतले नै दर्शक बटुल्ने आशा गरिरहेका बेला निर्माण पक्षले दोस्रो गीतबाट पनि यस्तै आशा राखेको छ । पछिल्लो सार्वजनिक गीत ढल्की ढल्कीमा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी फिचर्ड छन् । सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि भिडियोमा प्रस्तुत छन् ।

अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत छ । प्रविन सिंह गीतका कोरियोग्राफर हुन् । दीपेन्द्र के. खनाल निर्दे्शित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा बनाएका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ ।

निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । फिल्म डार्क कमेडी रहेको निर्देशक खनाल बताउँछन् । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ । पहिलो गीतबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम दोस्रो गीतलाई पनि दर्शकले रुचाउनेमा विश्वस्त देखिएको छ ।