गोपीको गोलमालः वर्षा र खगेन्द्रले हात झिकेपनि सुरक्षाको साथ

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । नेपाली चलचित्रमा आउने विभिन्न फण्डाहरुले दर्शकहरुमा कौतुहलता उत्पन्न गराउँछ । कौतुहलता उब्जिनु स्वभाविक पनि हो । किनकी दर्शकलाई रुची बढी भएकै कारण कौतुहलता उब्जिेने हो । क्रिया–प्रतिक्रिया आएनन् भने सुध्रिने अवस्था पनि त आउँदैन । हालै एउटा चलचित्रको रोचक प्रसंग बाहिरियो । छायांकनरत चलचित्र गोपी टोलीबाट यस्तै रोचक प्रसंग बाहिरिएको हो ।

चलचित्र गोपीको घोषणा कार्यक्रममा चलचित्रका कलाकारहरु नायिका वर्षा सिवाकोटी प्रमुख नायिकाको भूमिका रहने जानकारी दिइएको थियो । तर, २४ घण्टा नवित्दै नायिका वर्षाले चलचित्रबाट हात झिकिन् । निर्माण पक्ष पनि के कम एउटी वर्षा आउट हुँदा अर्की वर्षालाई इन्ट्री गराइहाल्यो । वर्षा सिवाकोटीको ठाउँमा वर्षा राउतलाई ल्याइयो ।

फिल्ममा कलाकार भित्रिनु र बाहिरिनु नौलो कुरा भने होइन । प्रायः यस्ता घटना आइरहन्छन् । तर, यहाँ त नायिका आउँट हुँदा नायक पनि आउँट भएपछि निर्माण पक्षलाई फसाद परेको थियो । नायकले समेत हात झिकेपछि ‘गोपी’भित्र रोचक खेल भएको आशंका समेत उब्जिएको छ ।

गोपीमा पहिले नायकको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । अहिले उनको ठाउँमा विपीन कार्की अनुबन्धित भएका छन् । वर्षाले आफूले छाड्नुको कारण भने अनुबन्धित हुँदा एउटा चरित्र र पछि अर्कै चरित्र भन्दै घुमाउरो जवाफ दिएकी थिइन् । तर, निर्माण टोली यस भनाइमा सत्यता नभएको भन्दै बचाउ गर्नमा जुट्यो ।

स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सिनाले पूरा स्क्रिप्ट नै नसुनि उनी फिल्मबाट बाहिरिएको आरोप लगाए । तर, अभिनेता खगेन्द्रले चाहिँ के कारणले बाहिरिए ? निर्माण टोली बेखर जस्तै बनेको थियो । उता वर्षाको घुमाउरो जवाफ जस्तै यता निर्माण टोलीको घुमाउरो जवाफ आयो–‘उनले पटक–पटक वर्कसपमा समेत स्क्रिप्टलाई लिएर गुनासो पोखेका थिए, सायद त्यही कारण पनि हुनसक्छ ।’

विपिन अनुबन्धित भएसँगै उनले अब वर्षा राउत र सुरक्षा पन्तसँग रोमान्स गर्नेछन् । चलचित्रको टोली गएको सोमबारबाट फ्लोरमा निस्किएको हो । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

अभिनेत्री वर्षाले फिल्म ’जात्रा’ मा उनीसँग काम गरिसकेकी थिइन् । यही कारणले पनि विपिनलाई भित्र्याउ वर्षाको ठूलो भूमिका रहेको बुझिन्छ । चलचित्रमा वर्षा र खगेन्द्र बाहिरिए पनि सुरक्षा पन्तले भने सुरुदेखि अहिलेसम्म साथ दिएकी छिन् । चलचित्रमा नायक नायिक बाहिरिँदा दर्शकमाझ गलत सन्देश जाने कुरमा निर्माण पक्ष जानकार हुन्छ नै ।

तर, सुरक्षाले आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउने भन्दै निर्माण पक्षलाई साथ दिँदै आएकी छिन् । आरोही फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘गोपी’मा विपिन्, वर्षा, सुरक्षासँगै अंकित खड्का, भोला सापकोटा, रमेश अधिकारी, सरोज अर्याल आदि कलाकारको अभिनय रहनेछ ।