घटना विविधः दुर्घटनामा ४ जनाको मृत्यु्

title
सोमवार, मंसिर १७, २०७५

टीकापुर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो।

उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईंले बताए। मोटरसाइकल चालक पवन पाण्डेको हात भाँच्चिएको छ, उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डन्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ।

यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

मृतक जीवानन्द र विष्णुको शव टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

यसैबीच, बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ का विकास गन्धर्व छन्। म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ।