घण्टाघरको संरक्षण हुन नसक्दा खण्डहरमा परिणत

title
आइतवार, जेष्ठ २६, २०७६

शान्ता लम्साल । काठमाडौबासीका निम्ति समय सुचकको एक मात्र पर्याय बनेको ऐतिहासिक महत्वको घण्टाघर संरक्षण हुन नसक्दा खण्डहरमा परिणत हुन थालेको छ ।

घण्टाघरमा समय हेरेर आफ्नो दैनीकी व्यवस्थापन गर्नेको संख्या कम भएपनि यहां जडान भएको घडीको पुरातात्विक महत्व अतुलनीय छ । जसले एक सय २४ वर्षदेखि नियमीत समय जानकारी गराइरहेको छ । त्रिचन्द्र क्याम्पस परिसरमा वीर सम्शेरले उपत्यका बासीलाई सहजै समय बारे जानकारी दिन प्रत्येक १५ मिनेटमा घण्टी हानी रहने प्रविधि सहितको घण्टाघर बनाएका हुन् । जुन घण्टाघर २०७२ सालको विनासकारी भुकम्पपछि चर्किएको छ ।

इतिहांसकारका अनुसार, १९९० सालको महाभुकम्पमा पनि भत्किएको यो घण्टाघर मर्मतमा राज्यले चासो नदिएपछि वीर शसम्शेरकै खलकले मर्मत गरेर अस्तित्व जोगाएको ईतिहासकार पुरुषोत्तम शम्सेर राणाले बताए ।

यो ऐतीहांसीक घडी सञ्चालनका निम्ति हप्तामा दुई दिन दम दिनुपर्छ । जुन काम २०४४ सालदेखी गणेश सापकोटा एक्लैले गर्दै आएका छन् । यो घडी र यसको प्रविधिसंग विगत ३२ बर्षदेखी भिजेका सापकोटाका अनुसार, भित्रभित्रै थिलथिलो बनेको घण्टाघरमा जडान गरिएको कलपुर्जा निकै पुरानो भएको छ ।

बाहिर देखिने चारवटा घडीको समय मिलाउन, पेन्डुलम चलाउन, मिनेट र घण्टा बताउने ५ वटा घण्टी बजाउन तीन ठाउँमा नियमित दम दिनुपर्छ । जसका लागि क्याम्पसले ४ जना कर्मचारी खटाएको छ । तर घडीमा जडान भएका पूर्जाहरू कतै किन्न पाईंदैन र मर्मत गर्ने अर्को जनशक्ति तयार नभएको ३२ वर्षदेखि घडीको रेखदेखमा खटिएका कर्मचारी गणेश सापकोटाले बताए ।

यो घडी तथा यसका पाटपूर्जा वीर सम्शेरले बेलायतबाट ल्याएर काठमाडौंको आकर्षण र चिनारीका रुपमा स्थापीत गरेका हुन । यही घण्टाघरको सिको गर्दै नेपाल सहित विश्वका धेरै शहरमा घण्टाघर बनाइएको छ । तर १२४ बर्ष देखि निरन्तर घुमीरहेको र समयको सूचक बनिरहेको यही घण्टाघर भने अहिले कसको स्वामित्व र कसले संरक्षण गर्ने भन्ने हानाथापको शिकार भएको छ ।