घरेलु मैदानमा नेपालले तीन वटा अन्तर्राष्ट्रि फुटबल खेल्ने

title
आइतवार, साउन २७, २०७५

काठमाडौं । इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि प्रशिक्षणमा जुटेको नेपाली फुटबल टोलीले तीन वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी डिसेम्बरसम्म ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारे पत्रकारसम्मेलन गर्दै जानकारी दिएको हो ।

नेपालले आगामी नोभेम्बर १४ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । अफगानिस्तान विरुद्धको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै डिसेम्बरमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल्ने छ । थाइल्यान्डसँगको खेलको मिति भने तय भइसकेको छैन ।

मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड र म्यानम्यारको राष्ट्रिय फुटबल टोली नेपाल आउने भएको छ । नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक २६ (नोभेम्बर १४) मा मैत्रीपूर्ण खेल आयोजना हुने पक्का भइसकेको जानकारी दिदै अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले थाइल्यान्ड र म्यानमारलाई पनि मैत्रीपूर्ण खेलका लागि बोलाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने तय भइसकेको छ । त्यसपछि डिसेम्बरमा थाइल्यान्ड र त्यसपछि म्यानमारसँग मैत्रीपूर्ण फुटबल हुने र यस विषयमा छलफल अघि बढिरहेको प्रवक्ता राईले बताए ।

नेपाली टोलीलाई अन्य मुलुक पठाएर भन्दा नेपालमै मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना अनुरुप छलफल अघि बढाइएको एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नवीन पाण्डेले बताए । अफगानिस्तान फुटबल संघको प्रस्तावमा मैत्रीपूर्ण खेल हुन लागेको र त्यसलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता लिनका लागि एएफसीमा पत्रचार गरिसकेका छौं, पाण्डेले भने, केहि दिनमा जवाफ आउला । अरु तयारी अघि बढिसकेको छ ।

अफगानिस्तान फुटबल टोली ५ वर्षपछि नेपाल आउन लागेको हो । सन् २०१३ मा साफ च्याम्पियसिपका लागि नेपाल आउँदा अफगानिस्तान टोली पहिलो पटक च्याम्पियन बनेको थियो । पहिलो भेटमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १–० गोलले पराजित भएको थियो ।

यो साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै अफगानिस्तानले उपाधि जितेको थियो । अहिले भने अफगानिस्तान साफ च्याम्पियनसिपबाट अलग भइरहेको छ । आगामी बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।

एन्फाको पत्रकार सम्मेलनमा नेपालले यो वर्ष उमेर समूहका प्रतियोगितासहित १० वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिन लागेको जनाएको छ । एन्फाले साफ यू–१५ च्याम्पियनसिप, थाइल्यान्डमा १० दिनको अभ्याससहित २ वटा मैत्रीपूर्ण खेल, एसियन गेम्स, साफ सुजुकी कप, एएफसी यू–१६ च्याम्पियनसिप छनोट, ४६औं एसियन स्कुल यू–१८ च्याम्पियनसिप, साफ यू–१८ महिला च्याम्पियनसिप, साफ यू–१५ पुरुष च्याम्पियनसिप, एएफसी यू–१८ महिला च्याम्पियनसिप र ओलम्पियक २०२० महिला छनोटमा भाग लिने जनाएको छ ।