‘चंगा चेट’को ओपनिङ सुखद्, मालिकालाई मिलेनन् दर्शक

title
सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । गएको शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित कमेडी फिल्म ‘चंगा चेट’ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार बिहानदेखि साँझसम्म ८०–८५ प्रतिशतको आसपास अकुपेन्सी रहेको वितरकको दाबी छ ।

‘फिल्मको ‘वर्ड अफ माउथ’ एकदमै राम्रो छ’, उत्साहित हुँदै निर्देशक खनालले भने, ‘शुक्रबारभन्दा शनिबार देशभर दर्शकको चाप बढेको छ । मल्टिप्लेक्स र सिंगल पर्दा कुनै खाली छैन । देशभर फिल्मको व्यापार राम्रो छ ।’ उनले दर्शकले कमेडी पाटोलाई मन पराएको बताए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाकै कारण चलचित्रले अझै केही दिन दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको अपेक्षा छ ।

शुक्रबार एकसाथ पाँच फिल्म प्रदर्शनमा आउनु र दशैंको फिल्म ‘छक्का पञ्जा ३’ को सोज नघट्नुले ‘चां चेट’ ले मल्टिप्लेक्समा पर्याप्त सोज पाउन सकेको छैन । शुक्रबार र शनिबारको व्यापारले आइतबारबाट मल्टिप्लेक्समा सोज बढ्ने छनक देखिएको छ । शुक्रबार र शनिबार मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई बाँडेको अधिकांश सोज हाउसफुल रहे । बाँकी मल्टिप्लेक्ससमा पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको निर्माता माधव वाग्लेले बताए । मध्यमवर्गीय दर्शकको चाप रहने गोपी, अष्टनारायण, गुण, गंगालगायतका हल पनि शनिबार बिहानैदेखि हाउसफुल रहेका छन् ।

राजधानी बाहिरको ठूलो बजार पोखरा, बुटवल, चितवन, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको भीड उत्साहजनक रहेको निर्माता वाग्लेले जानकारी दिए । फिल्मले दुई दिनमा अनुमानित ६० लाख ग्रस कलेक्सन गरेको बताइएको छ । शनिबार कलाकार, निर्देशक र निर्माताले राजधानीका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए ।

शुक्रबारबाटै प्रदर्शनमा आएको रेखा थापाको चलचित्र मालिकाले भने औषत व्यापार गरेको छ । चंगा चेटको जस्तो उत्साहजनक उपस्थिति नभए पनि निर्माण पक्षले मालिका चलचित्र निकै राम्रो भएको माउथ पब्लिसिटीका कारण दर्शको उपस्थिति बढ्ने दाबी गरेको छ ।

शर्मिला पाण्डेको पनि लगानी रहेको चलचित्र चंगा चेटमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छन् । यी दुई चलचित्रको व्यापारिक प्रतिस्पर्धा निकै नै संघर्षपूर्ण देखिएको छ । दुवै चलचित्रका सामु धेरै चुनौती छन् । दीपा निरौलाको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा–३ ले अहिले पनि साथ पाइरहेको हुँदा यी दुई चलचित्रका लागि पहिलो चुनौती देखिएको छ । त्यस्तै फूलपातीबाट प्रदर्शनाम आएको अशोक शर्माको चलचित्र ‘जय भोले’ अर्को चुनैती छ ।

मालिकाले नारी वेदना तथा बाल विवाहविरुद्धको कथालाई उठान गरेको छ । विषय सन्दर्भिक भए सामाजिक कथावस्तु तथा नारी वेदनाका निकै नेपाली चलचित्र निर्माण भइसकेका छन् । बालविवाह तथा दाइजोप्रथा विरुद्धको कथाबस्तु समेटिएको मालिकालाई लिएर रेखा थापा स्वयम् उत्साहित देखिन्छन् ।

तर, पछिल्ला केही वर्षयता रेखाद्वारा निर्मित र अभिनित चलचित्रले राम्रो व्यापार गर्न नसकिरहेका बेला यो चलचित्रले पनि दर्शकको उत्साहजनक उपस्थित नपाउने अवस्था देखिएको छ । चलचित्रको निर्देशनसँगै रेखाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओलीको मूख्य भूमिका रहेको छ ।

फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको हो । नर बहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।

त्यसो त चंगा चेटकी अभिनेत्री परिमिताका लागि तेस्रो चलचित्र सफल हुने छनक देखिएको छ । लगातार दुईवटा चलचित्रमा असफलता व्यहोरेकी परिमिताका लागि यो चलचित्र टर्निङ पोइन्ट बन्ने अवस्था देखिएको छ । ‘चपली हाईट २’बाट बक्सअफिसमा डेब्यु गरेको परमिता केही महिना अगाडि प्रदर्शनमा आएको चलचित्र ‘रोज’मा देखिएको थिइन् । रोजबाट पनि उनले दर्शकको साथ पाउन सकिनन् ।

तर, चलचित्र चंगा चेटको ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ बोलको गीतले नै चर्चित बनिरहेका बेला चलचित्रमा उनको अभिनयलाई दर्शकले पनि तारिफ गरेपछि उनी अहिले मख्ख बनेकी छिन् ।