‘चङ्गा चेट’मा आयुष्मानसँग प्रियंकाकै जोडी

title
बुधबार, भदौ ६, २०७५

काठमाडौं । आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनीत सिनेमा ‘चङ्गा चेट’को पहिलो गीत रिलिज गरिएको छ । ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झालाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ, भने उनलाई स्वरमा गायिका मेलिना राई र ग्रीष्मा सिवाकोटीले साथ दिएका छन् ।

गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । यो गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रियल जोडी, यस्तै रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी र सन्दिप क्षेत्रीसँग परमिता आरएल राणाको जोडी बाँधिएको छ । गीतमार्फत् फिल्मको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीतले बोल्छ ।

माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस सिनेमा लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । सिनेमा डार्क कमेडी रहेको निर्देशक खनालले बताए । उनले बनिरहेका कमेडी सिनेमा भन्दा ‘चङ्गा चेट’ नितान्त फरक रहेको र दर्शकले नयाँ टेष्ट पाउने बताए । हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जर्बजस्ती नराखिएको समेत उनले जानकारी दिए । उनका अनुसार, काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा सिनेमाले बोल्नेछ ।

गीत सार्वजनिक गरेसँगै निर्माण टिमले सिनेमाको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । यसअघि भाद्र १५ गते आउने तय भएको यो सिनेमाको रिलिज डेट अब कात्तिक १६ गतेलाई लक गरिएको छ । सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो सिनेमामा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको सिनेमाको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।